रुपन्देहीको शुद्धोधनस्थित फस्ट च्वाइस फुड्स प्रालिले उत्पादन गरेको फ्रेन्च फ्राइज पहिलो पटक अमेरिका निर्यात गर्न थालेको छ। ‘हिमालयन क्रिस्प’ र ‘हाम्रो फ्राइज’ ब्रान्डका फ्रेन्च फ्राइज अमेरिकातर्फ पठाइएको हो।
उद्योगका सञ्चालक कृष्ण पौडेलका अनुसार मंगलबार ४२ मेट्रिक टन फ्रेन्च फ्राइज बोकेका कन्टेनर भैरहवा भन्सार हुँदै कोलकाता बन्दरगाहका लागि पठाइएको छ। करिब ५० दिनमा ती फ्रेन्च फ्राइज अमेरिकी बजारमा पुग्ने उनले जानकारी दिए। उनका अनुसार अब हरेक हप्ता अमेरिका निर्यात जारी रहनेछ र छिट्टै बेलायतमा पनि निर्यात सुरु गर्ने योजना छ।
दुबई, मलेसिया र साउदी अरबजस्ता तेस्रो मुलुकमा पनि फ्रेन्च फ्राइज पठाउने तयारी भइरहेको उनले बताए। अमेरिका पठाउनुअघि उत्पादनको गुणस्तर परीक्षण गरिँदा सबै सूचक उत्कृष्ट रहेको पुष्टि भएपछि निर्यात प्रक्रिया अघि बढाइएको हो।
भैरहवा भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपानेका अनुसार यस निर्यातबाट नेपालले करिब ४० हजार अमेरिकी डलर आम्दानी गर्नेछ। उनले यो कदमले व्यापार घाटा घटाउन सहयोग पुर्याउने उल्लेख गरे।
दुई अर्ब रुपैयाँको लागतमा स्थापना गरिएको उद्योगले युरोपियन प्रविधियुक्त संयन्त्रमार्फत प्रतिघण्टा दुई टन फ्रेन्च फ्राइज उत्पादन गर्छ। पाँच वर्षदेखि सञ्चालनमा रहेको यस उद्योगले देशभरका २६ जिल्लाका ३५ हजार किसानसँग सहकार्य गर्दै वार्षिक दुई हजार टनभन्दा बढी आलु प्रयोग गर्छ।
फस्ट च्वाइस फुड्सले काठमाडौं, पोखरा, चितवन, बुटवल, इटहरी, दाङ र नेपालगन्जलगायत प्रमुख सहरमा वितरण सञ्जाल विस्तार गरी फ्रेन्च फ्राइजसँगै ह्यास ब्राउन, स्माइलस, पोटेटो वेजेस र भेज बर्गर प्याटी जस्ता उत्पादन पनि बजारमा पुर्याउँदै आएको छ।








