दूध संकलन गर्ने भ्यान सुनकोशी नदीमा खस्यो, चालक हराए
१० असोज, काभ्रेपलाञ्चोक । काभ्रेबाट दूध बोकेर गइरहेको एक मिनी डेलिभरी भ्यान आज बिहान सुनकोशी नदीमा खस्दा चालक बेपत्ता भएका छन् ।
सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ स्थित अरनिको राजमार्गको भागमा करिब बिहान ५ बजेर २० मिनेट जाँदा बा १२ च ६५९४ नम्बरको मारुती मिनी भ्यान दुर्घटनामा परेर सडकबाट झण्डै ५० मिटर तल नदीमा खसेको प्रहरीले जनाएको छ ।
उक्त गाडी पनौती नगरपालिका–१०, पस्थलीका करिब २२ देखि २३ वर्ष उमेरका नवराज खुलालले चलाइरहेका थिए । गाडीमा उनी मात्र सवार रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए ।
भ्यान चौतारा साँगाचोकगढी–१०, सुकुटेमा रहेको सिन्धु दुग्ध डेरीको दूध संकलनका लागि सुकुटेबाट खाडिचौरतर्फ जाँदै गरेको थियो ।
घटनापछि प्रहरी चौकी बलेफीबाट प्रहरी नायब निरीक्षक सुरेश प्रसाद गुप्ताको नेतृत्वमा चार जनाको टोली खटिएको छ भने चालकको खोज कार्य निरन्तर भइरहेको प्रहरीले जनाएको छ ।

