बर्डफ्लुको प्रकोपले पोल्ट्री व्यवसाय गम्भीर संकटमा

पूर्वी नेपालमा बर्डफ्लुको प्रकोपले पोल्ट्री व्यवसाय गम्भीर संकटमा परेको छ । कोशी प्रदेशका मोरङ, सुनसरी र झापा जिल्लामा संक्रमण फैलिँदै जाँदा कुखुराको उत्पादन र बिक्री दुवैमा ठूलो गिरावट आएको छ, जसले अर्बौँ लगानी गरेका किसान तथा व्यवसायीलाई आर्थिक रूपमा धरासायी बनाउने अवस्था सिर्जना गरेको छ ।

पशुपन्छी महाशाखाका अनुसार चैत ३ गतेबाट सुरु भएको संक्रमण हालसम्म ती तीन जिल्लाका १६ वटा व्यावसायिक फार्ममा पुष्टि भइसकेको छ । चैत १२ गतेसम्म मोरङका ६, सुनसरीका ८ र झापाका २ फार्ममा रहेका ६६ हजारभन्दा बढी कुखुरा नष्ट गरिएको छ । नष्ट गरिएका कुखुरामध्ये अधिकांश लेयर्स रहेका छन् भने केही बोइलर कुखुरा पनि रहेका छन् ।

संक्रमणको प्रभाव बजारमा स्पष्ट देखिएको छ । बर्डफ्लु सम्बन्धी हल्ला र त्रासका कारण उपभोक्ताले कुखुराको मासु किन्न छाडेपछि बिक्री अत्यन्तै घटेको व्यवसायीहरू बताउँछन् । केही साताअघिसम्म दैनिक ठूलो परिमाणमा बिक्री हुने मासु अहिले न्यून मात्रामा सीमित भएको छ । यसले गर्दा पसल सञ्चालन खर्च धान्नसमेत कठिन भएको व्यवसायीहरूको गुनासो छ ।

अचम्मको कुरा के छ भने उत्पादन घटे पनि मूल्य भने बढ्न सकेको छैन । उपभोक्तामा रहेको डरका कारण कुखुराको मासुको मूल्य घटेर प्रतिकिलो ३६० रुपैयाँसम्म झरेको छ । तर पनि खरिदकर्ता न्यून भएकाले बजार चलायमान हुन सकेको छैन । धेरै उपभोक्ताले कुखुराको सट्टा खसीको मासु वा शाकाहारी परिकार रोज्न थालेका छन् ।

किसानहरूको अवस्था झन् चुनौतीपूर्ण बन्दै गएको छ । लेयर्स कुखुरापालक संघका अनुसार माग करिब ५० प्रतिशतले घटेको छ । एकातिर संक्रमणका कारण कुखुरा नष्ट गर्नुपरेको छ भने अर्कोतिर उत्पादन भएको मासुले बजार नपाउँदा किसानहरू ऋणको भारमा थिचिएका छन् ।

बर्डफ्लु नियन्त्रणका लागि प्रदेश सरकारले तीव्र गतिमा ‘रेपिड रेस्पोन्स टिम’ परिचालन गरी संक्रमित क्षेत्रका कुखुरा नष्ट गर्ने तथा जैविक सुरक्षाका उपायहरू कडाइका साथ लागू गर्ने काम गरिरहेको छ । तर संक्रमण पूर्ण रूपमा नियन्त्रणमा नआएकाले आगामी दिनमा पोल्ट्री क्षेत्रको क्षति अझै बढ्ने चिन्ता व्यक्त गरिएको छ ।

यसबीच, विराटनगरलगायत पूर्वी क्षेत्रका धेरै मासु पसलहरू ग्राहकको प्रतीक्षामा खालीजस्तै देखिन थालेका छन्, जसले समग्र मासुजन्य बजार र प्रदेशको अर्थतन्त्रमा नकारात्मक प्रभाव पारिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ad