५ हजार ३०२ औषधि पसलको प्रमाणपत्र स्वतः खारेज

औषधि व्यवस्था विभागले नवीकरण प्रक्रिया पूरा नगरेका पाँच हजार तीन सय दुई औषधि पसल तथा फार्मेसीको दर्ता प्रमाणपत्र स्वतः खारेज भएको जनाएको छ। विभागले मङ्गलबार सार्वजनिक गरेको सूचनाअनुसार कानुनले तोकेको अवधिभित्र नवीकरण नगरेका र म्याद समाप्त भएका पसलहरूको प्रमाणपत्र रद्द गरिएको हो।

विभागका अनुसार औषधि ऐन, २०३५ को दफा ११ मा भएको संशोधित व्यवस्था तथा सोही दफाको उपदफा (५) बमोजिम औषधि उत्पादन अनुज्ञापत्र, सिफारिसपत्र र प्रमाणपत्रको अवधि तथा नवीकरणसम्बन्धी प्रावधान लागू गरिएको छ। जेठ २८ गतेसम्म नवीकरण नगरी म्याद गुजारेका औषधि पसलहरूको सूचीसमेत विभागले सार्वजनिक गरेको छ।

प्रमाणपत्र खारेज भइसकेपछि ती पसलहरूले कानुनी रूपमा औषधि बिक्री–वितरण तथा व्यवसाय सञ्चालन गर्न नपाउने विभागले स्पष्ट पारेको छ। विभागले सम्पूर्ण औषधि व्यवसायीलाई आफ्नो प्रमाणपत्रको अवस्था यकिन गरी आवश्यक कानुनी प्रक्रिया तत्काल पूरा गर्न आग्रह गरेको छ। साथै, प्रचलित कानुनी व्यवस्था र विभागीय निर्देशनको पूर्ण पालना गर्न तथा जनस्वास्थ्यमा असर पर्ने गरी मापदण्डविपरीत औषधि व्यवसाय सञ्चालन नगर्न सचेत गराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *