उल्टो समय र प्रेमको मौन सन्देश

  आजको समय अचम्मको छ । नाता–सम्बन्ध जति गहिरो देखिन्छ, त्यति नै सतहमा पैसा र अपेक्षाको धागोले बाँधिएको । आफन्तलाई खुशी पार्न मन लाग्छ तर यदि खल्ती रित्तो छ भने, मुस्कान पनि सस्तो ठट्टाजस्तो लाग्छ । परिवार, प्रेम, माया—सबै मानौँ रकमको तौलमा जोखिन थालेका छन् ।

यही दुनियाँको भीडबीच अर्पण र सान्वीको प्रेम पलायो । दुवैको सम्बन्ध पैसाले होइन, सम्झनाले गाँसिएको थियो । अर्पणसँग धेरै थिएन—न महँगो उपहार, न त ठूला सपनाको महल । उसको सहारा केवल सान्ती को हात र सरल हृदय थियो । तर आजको उल्टो परिस्थितिमा त्यो नै सबैभन्दा कमजोर थलो जस्तो देखिन्थ्यो । कहिलेकाहीँ  सान्ती पनि रोइहाल्थी—“सबैसँग गाडी, सुन, रहरहरू छ, हाम्रो भविष्यचाहिँ?”

अर्पण मुस्कुराउँदै भन्थ्यो, “मसँग पैसा थोरै होला तर हरेक बिहान तिम्रो खुशी देख्न म लाखौँ मिहिनेत गर्न सक्छु।” त्यो बोलाइ त्यति चमकिलो थिएन, तर गहिरो थियो।

एक दिन सान्तीले थकित स्वरमा भनिन्, “अहिलेको समय यस्तो छ—रोएर बस्यो भने सबैको सहानुभूति, तर हाँस्यो भने कसैलाई नसुहाउने । कति विचित्र है?”
अर्पणले उसको हात अँगालोमा लिएर बिस्तारै जवाफ दियो, “मानिसहरू हताश कहिरहेका छन्, त्यसैले अरूको खुशी सहन सक्दैनन्। तर म… तिम्रो आँसु होइन, हाँसोको कारण बन्न चाहन्छु।”

त्यो साँझ ती दुबै नदी किनारमा बसिरहेका थिए । सूर्य अस्ताउँदै थियो, तर आकाशभर सुनौलो उज्यालो छरिएको थियो । सान्ती ले अर्पणको काँधमा टाउको राखी बिस्तारै भनिन्, “यदि मसँग तिमी छौ भने, संसारको यो उल्टो गतिलाई सिधा पार्न सक्छु।”

त्यही क्षण, पैसाभन्दा प्रेम ठूलो लाग्यो, दुःखभन्दा साथ महत्वपूर्ण भयो र समय… केही पलका लागि सीधा भएर मुस्कुरायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *