सेयर बजारमा उच्च गिरावट
सेयर बजार परिसूचकमा आज पनि उच्च गिरावट आएको छ । गत साता झण्डै ८० अङ्कको क्षति व्यहोरेको सेयर बजार आइतबार ७८।८३ अङ्कले घटेको हो । योसँगै बजार परिसूचक २५०३।५३ अङ्कमा झरेको छ ।कारोबारको सुरुवातदेखि नै उच्च अङ्कले घटेको बजार पहिलो २ घण्टासम्म निरन्तर घटेको थियो । यो अवधिमा झण्डै ८७ अङ्क घटेको बजारले २४ सयको लाइन छोएको थियो ।
त्यसपछि भने बजार सम्हालियो । अन्तिम २ घण्टामा बजारले सामान्य सुधार गर्दै २५ सयभन्दा माथि रहेर बजार बन्द भएको हो ।आज बजारमा होटल तथा पर्यटन क्षेत्रमा ४।८४ प्रतिशत, अन्य क्षेत्रका कम्पनीमा सर्वाधिक ४।७९ प्रतिशत गिरावट आएको छ । फाइनान्स, हाइड्रो र इन्भेष्टमेन्ट समूहमा पनि ३ प्रतिशत भन्दा धेरैको गिरावट छ । सबैभन्दा कम घट्ने म्युचुअल फण्डमा ०।९९ प्रतिशतको गिरावट छ ।बजारमा आज कुनै पनि कम्पनीको मूल्यमा नकारात्मक सर्किट नलागे पनि ३५ वटा कम्पनीको मूल्यमा ५ प्रतिशत भन्दा धेरैको गिरावट देखिएको छ । बजारमा आज नेपाल माइक्रो इन्स्योरेन्सको मूल्यमा ६।०१ प्रतिशतको वृद्धि देखिएको छ ।बजारमा आज नेपाल रिइन्स्योरेन्स कम्पनीको ३८ करोड, एनएलजी इन्स्योरेन्सको ३७ करोड र युनियन हाइड्रोपावरको ३६ करोड रुपैयाँ बराबरको कारोबार भई सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष स्थानमा परेका छन् ।
