इजरायली आक्रमणबाट गाजामा एकै परिवारका ११ जनाको मृत्यु
२ कात्तिक,। गाजा क्षेत्रमा युद्धविराम भएको केही हप्ता मात्र बितेको छ । तर शुक्रबार राति भएको एक दुःखद घटनाले फेरि स्थिति तंग बनाएको छ । गाजाको उत्तरी भाग, जायतुन क्षेत्रमा इजरायली ट्यांकबाट गोली चल्दा एकै परिवारका ११ जनाको मृत्यु भएको छ । मृतक सबैजना एकै परिवारका सदस्य भएको हमास नियंत्रित सिभिल डिफेन्सले पुष्टि गरेको छ ।
सिभिल डिफेन्सका अनुसार घटनाका बेला परिवारका सदस्यहरू बसमा सवार थिए । उनीहरू युद्धविरामपछि आफ्नो घरको अवस्था हेर्न जाँदै गरेका थिए । तर गाजाको जायतुन क्षेत्र नजिक पुग्दा इजरायली ट्यांकले उनीहरू सवार गाडीमाथि गोली प्रहार गर्यो । यस हमलामा बसमा रहेका ११ जनाको मृत्यु भयो भने केही घाइते भएका छन् ।
यो युद्धविरामपछि गाजामा भएको सबैभन्दा घातक हमला मानिएको छ । घटनापछि गाजा क्षेत्रमा त्रास र असुरक्षा झन् बढेको छ । स्थानीयवासी तथा राहतकर्मीहरूले युद्धविरामको वातावरणमा यस्तो घटना हुनु मानवीय दृष्टिले गम्भीर चुनौती भएको बताएका छन् ।
इजरायली सेनाले पनि यस घटनाबारे प्रतिक्रिया दिएको छ । सेनाका एक प्रवक्ताले पहेँलो रेखा (बफर जोन) पार गर्न खोजेको एक ‘सन्दिग्ध गाडी’माथि गोली चलाइएको स्वीकार गरेका छन् । इजरायलका अनुसार यो पहेँलो रेखा इजरायल र गाजालाई छुट्याउने सीमा हो र यस क्षेत्रमा प्रवेश निषेध गरिएको छ ।
तर मानवीय संगठनहरूले भने नागरिकमाथि गरिएको आक्रमणलाई अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन बताएका छन् । उनीहरूले सत्यतथ्य अनुसन्धान गरी दोषीमाथि कारवाही गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।
यो घटनाले गाजामा जारी युद्धविरामको भविष्य र शान्ति प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ ।

