जानकी मन्दिरमा करोडौँको भ्रष्टाचार

कात्तिक १६ । हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र जानकी मन्दिरमा करोडौँ रुपैयाँको सौन्दर्यीकरण योजना विवादमा परेको छ। मधेस प्रदेश सरकारले सञ्चालन गरेको अभियानअन्तर्गत जडान गरिएका नयाँ टायल र मार्बल धमाधम फुट्न थालेपछि परियोजनाको गुणस्तरमाथि गम्भीर प्रश्न उठेका छन्।

२०७५ साउन १३ गते तत्कालीन मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा सुरु गरिएको उक्त अभियानका लागि प्रदेश सरकारले ७ करोड ७५ लाख रुपैयाँ विनियोजन गरेको थियो। तीनवटा प्रवेशद्वार, लाइटिङ, ग्रेनाइट टायल र ‘चरण गंगा’ निर्माणजस्ता काम आर.जे. रञ्जन कम्पनीलाई ठेक्का दिइएको थियो। तर सुरुदेखि नै स्थानीय युवाहरूले निर्माणमा प्रयोग भएका सामग्रीको गुणस्तर कमजोर भएको भन्दै विरोध जनाएका थिए।

अभियन्ता सरोज मिश्रलगायतले पुरातत्व विभाग र ठेकदारबीच मिलेमतोमा न्यूनस्तरका सामग्री प्रयोग गरिएको आरोप लगाएका थिए। विरोधका बाबजुद काम सकिएको घोषणा भए पनि अहिले टायलहरू फुट्न थालेपछि उनीहरूको आशंका सही ठहरिएको देखिएको छ।

जानकी मन्दिरका वरिष्ठ महन्थ रामतपेश्वर दासले नयाँ मार्बल जडान सुरुदेखि नै विरोध गरेको दाबी गर्दै यो कार्य मन्दिरको मौलिक सौन्दर्यमाथिको प्रहार भएको बताए। उनका उत्तराधिकारी महन्थ रामरोशन दासले भने ठेकदारले सम्झौताअनुसार रातो ग्रेनाइटको सट्टा कमजोर सेतो मार्बल प्रयोग गरेको बताएका छन्।

उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले बिहीबार मन्दिरको स्थलगत अनुगमन गर्दै तत्काल मर्मत आवश्यक रहेको बताएका छन्। उनका अनुसार मन्दिरको संरचना र मौलिकता जोगाउँदै नयाँ टायल प्रतिस्थापनको योजना तयार भइरहेको छ।

तर हाल यो विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको छ। आयोगले अनुसन्धान सकिनुअघि कुनै पनि मर्मतकार्य नगर्न निर्देशन दिएको छ। विवाह पञ्चमी नजिकिँदै गर्दा फुटेका टायलले मन्दिरको छवि र भक्तजनको श्रद्धामा असर पार्ने भन्दै स्थानीयले तत्काल सुधारको माग गरेका छन्।

 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *