भारतको बिहारमा पहिलो चरणको विधानसभा चुनाव हुँदै

भारतको बिहार राज्यमा आजदेखि विधानसभाको पहिलो चरणको मतदान सुरु भएको छ । बिहानैदेखि मतदाता मतदान केन्द्रमा लाइनमा उभिएका छन्। यस चरणमा १८ जिल्लाका १२१ विधान सभा सिटका लागि मतदान भइरहेको छ, जसमा राजधानी पटनासमेत पर्छ।
पहिलो चरणमा धेरै चर्चित नेताहरू प्रतिस्पर्धामा छन्। तिनीहरूमा बिहारका दुई उपमुख्यमन्त्री सम्राट चौधरी र विजय सिन्हा, साथै राष्ट्रिय जनता दल (आरजेडी) का प्रमुख नेता तेजस्वी यादव प्रमुख रूपमा छन्। उनीहरूको क्षेत्रका मतदाताहरूले समेत उत्साहका साथ मतदानमा भाग लिइरहेका छन्।

भारतको निर्वाचन आयोगले मतदान प्रक्रिया शान्तिपूर्ण र निष्पक्ष बनाउन विशेष तयारी गरेको बताइएको छ। संवेदनशील र अति संवेदनशील मानिएका मतदान केन्द्रहरूमा अतिरिक्त सुरक्षाकर्मी तैनाथ गरिएको छ। साथै, निर्वाचनमा गडबडी हुन नदिने उद्देश्यले निगरानीका लागि ड्रोन र सिसीटीभी क्यामेराको समेत प्रयोग गरिएको छ।

दोस्रो चरणको मतदान नोभेम्बर ११ तारिखमा हुनेछ, जसमा २० जिल्लाका १२२ विधान सभा सिटका लागि मत हालिनेछ। सबै चरणको मतदान सम्पन्न भएपछि नोभेम्बर १४ मा मतगणना सुरु गरिने र सोही दिन परिणाम सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ।

बिहारको यस निर्वाचनलाई भारतको राष्ट्रिय राजनीतिमा समेत महत्वपूर्ण मानिएको छ, किनभने यसको नतिजाले केन्द्रमा रहेका दलहरूको लोकप्रियता मापन गर्ने संकेत दिने बताइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ad