आधुनिक निर्माण सामग्री तथा उत्पादन प्रक्रियाबारे व्यावहारिक ज्ञान

भक्तपुर । ख्वप इन्जिनियरिङ कलेजमा आर्किटेक्चर इन्जिनियरिङ अध्ययनरत छ जना विद्यार्थीले आधुनिक निर्माण सामग्री तथा उत्पादन प्रक्रियाबारे व्यावहारिक ज्ञान हासिल गर्न नेपाल इको प्यानलको औद्योगिक भ्रमण गरेका छन्। ‘बिल्डिङ मटेरियल्स’ विषयअन्तर्गत आयोजना गरिएको उक्त भ्रमणले विद्यार्थीलाई कक्षाकोठाको सैद्धान्तिक ज्ञानलाई उद्योगको वास्तविक अभ्याससँग जोड्ने अवसर प्रदान गरेको हो।

भ्रमणका क्रममा विद्यार्थीहरूलाई नेपाल इको प्यानलको उत्पादन प्रक्रिया, निर्माण क्षेत्रमा यसको प्रयोग तथा उपयोगिता, साथै वातावरणमैत्री र ऊर्जा–दक्ष निर्माण सामग्री उत्पादनप्रतिको कम्पनीको प्रतिबद्धताबारे जानकारी गराइएको थियो।

विद्यार्थीहरूलाई कम्पनीले अवलम्बन गरिरहेका अन्तर्राष्ट्रियस्तरका व्यवस्थापन प्रणालीबारे पनि जानकारी दिइएको थियो। विशेषगरी आईएसओ ९००१ः२०१५ (गुणस्तर व्यवस्थापन प्रणाली), आईएसओ ४५००१ः२०१८ (व्यावसायिक स्वास्थ्य तथा सुरक्षा व्यवस्थापन प्रणाली) र आईएसओ १४००१ः२०१५ (वातावरण व्यवस्थापन प्रणाली) को महत्वबारे प्रस्ट्याइएको थियो।

नेपाल इको प्यानलका प्रबन्धक तथा भूकम्प इन्जिनियरिङका स्नातक इन्जिनियर कृष्णसुन्दर कुम्फाखाले प्राविधिक प्रस्तुति दिँदै हलुका तौलका इको प्यानल भूकम्पीय जोखिमयुक्त मुलुक नेपालका लागि उपयुक्त विकल्प भएको बताए। उनले प्यानलको छिटो र सहज जडान प्रक्रियाले निर्माण समय घटाउनुका साथै संरचनात्मक दक्षता कायम राख्न मद्दत पुग्ने जानकारी दिए।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर कृष्णभक्त दुवालले देशभरका इन्जिनियरिङ अध्ययनरत विद्यार्थीलाई व्यावहारिक सिकाइ प्रदान गर्ने उद्देश्यले नियमित रूपमा औद्योगिक तथा स्थलगत भ्रमणको व्यवस्था गर्दै आएको बताए। नेपाल इको प्यानल उत्पादन उद्योग मात्र नभई भावी इन्जिनियरहरूका लागि सिकाइ केन्द्रका रूपमा पनि स्थापित भइरहेको उनको भनाइ थियो।

भ्रमणका क्रममा विद्यार्थीहरूले उत्पादनस्थलको अवलोकन गर्नुका साथै प्राविधिक छलफलमा सक्रिय सहभागिता जनाएका थिए। यस्ता औद्योगिक भ्रमणले विद्यार्थीहरूको प्राविधिक क्षमता अभिवृद्धि गर्न र भविष्यका व्यावसायिक चुनौती सामना गर्न आवश्यक ज्ञान तथा सीप विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

 
 
 
 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *