श्रममन्त्री दीपककुमार साह पदमुक्त

 श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाइएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसपछि उनलाई पदमुक्त गर्ने निर्णय लिएका हुन् ।

रास्वपाका सभापति रवि लामिछानेले मन्त्री साहलाई जिम्मेवारीबाट फिर्ता बोलाउन प्रधानमन्त्रीसमक्ष औपचारिक पत्र पठाएका थिए । उक्त पत्रमा मन्त्री साहले पदको दुरुपयोग गरेको आरोप उल्लेख गरिएको छ । विशेषगरी, उनले आफ्नी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बिमा बोर्डमा सदस्यका रूपमा नियुक्त गराएको विषयलाई पार्टीको केन्द्रीय अनुशासन आयोगले गम्भीर रुपमा लिएको बताइएको छ ।

पार्टीले यस घटनाले आफ्नो नीति, सिद्धान्त र सार्वजनिक छविमा नकारात्मक असर पर्ने निष्कर्ष निकालेको छ । सोही आधारमा पार्टी विधानअनुसार आवश्यक कारबाहीको सिफारिस गरिएको हो । साथै, यस प्रकरणमा अपेक्षित जिम्मेवारी नदेखिएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतालाई पनि सचेत गराउन सुझाव दिइएको छ ।

प्रधानमन्त्री शाहले पछिल्लो समय मन्त्री साहसँग जोडिएका विवादबारे चासो देखाउँदै रास्वपाका नेताहरूसँग छलफल गरेका थिए । यसबीच, मन्त्री साहले चैत १३ गते आफ्नै श्रीमतीलाई स्वास्थ्य बिमा बोर्डमा नियुक्त गराएको तथ्य सार्वजनिक भएपछि विवाद चुलिएको थियो ।

महोत्तरी–२ बाट निर्वाचित सांसदसमेत रहेका साहलाई पदमुक्त गरेसँगै सरकारभित्र रिक्त पद व्यवस्थापनबारे आन्तरिक छलफल जारी रहेको जनाइएको छ ।

 
 
 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ad