ग्राहकको रकम ट्रान्सफर गर्ने बैंक कर्मचारी पक्राउ

कपिलवस्तुको तौलिहवा स्थित नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) शाखामा कार्यरत एक कर्मचारी ग्राहकको खाताबाट रकम अनाधिकृत रूपमा स्थानान्तरण गरेको आरोपमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा बैंकका कर्मचारी रिशभ कार्की रहेका छन्।

प्रहरीका अनुसार कार्कीले मोबाइल बैंकिङ र कनेक्ट आइपीएसको प्रयोग गरी करिब एक करोड ६५ लाख रुपैयाँ विभिन्न ग्राहकको खाताबाट आफ्नो खातामा ट्रान्सफर गरेका थिए। इलाका प्रहरी कार्यालय पकडीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रारम्भिक अनुसन्धानले उनले १६ जना ग्राहकको खाताबाट रकम हिनामिना गरेको देखाएको छ। बैंकमा लामो समयदेखि मेसेन्जरका रूपमा कार्यरत कार्कीले सहकर्मीहरूको विश्वास जितेका थिए। सोही विश्वासको दुरुपयोग गर्दै उनले दुई कर्मचारीको पासपोर्ट तथा परिचय विवरण प्रयोग गरेर रकम स्थानान्तरण गरेको प्रहरीको भनाइ छ।

बैंकको केन्द्रीय कार्यालयले एउटै मोबाइल नम्बरबाट धेरै ग्राहकको खाता सञ्चालन भएको देखेपछि शंका लागी प्रहरीलाई जानकारी गराएको थियो। त्यसपछि गरिएको अनुसन्धानमा कार्कीको संलग्नता खुलेको हो, जसलाई उनले स्वीकारसमेत गरेका छन्।

घटनापछि बैंकले दुई कर्मचारीलाई निलम्बन गरेको छ भने शाखा प्रमुखसँग स्पष्टीकरण मागिएको छ। साथै, प्रहरीले सर्वसाधारणलाई बैंक खाता तथा मोबाइल बैंकिङ प्रयोग गर्दा सतर्कता अपनाउन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ad