हर्क साम्पाङको श्रम संस्कृति पार्टीलाई निर्वाचन आयोगको मान्यता

     धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले निर्वाचन आयोगबाट आधिकारिक मान्यता प्राप्त गरेको छ। आयोगले आवश्यक प्रक्रिया पूरा गरेपछि पार्टीलाई आज दर्ता प्रमाणपत्र प्रदान गर्न लागेको हो। पार्टीका केन्द्रीय सदस्य गोपाल बहादुर खड्काका अनुसार दिउँसो २ बजे आयोगमा पार्टीका प्रतिनिधिहरू उपस्थित भएर प्रमाणपत्र ग्रहण गर्ने तयारी भएको छ। अध्यक्ष हर्क साम्पाङ स्वयं पनि प्रमाणपत्र लिन उपस्थित हुने बताइएको छ। साम्पाङको नेतृत्वमा बनेको श्रम संस्कृति पार्टीको चुनाव चिन्ह “माटो” रहेको छ।

 पार्टीमा पाँचजना पदाधिकारी र २८ जना केन्द्रीय सदस्य रहेका छन्। देवराज लामा उपाध्यक्ष, आर्यन राई महासचिव, समिता राई कोषाध्यक्ष तथा अरुण गुरुङ प्रवक्ता छन्। गत असोज १२ गते आइतबार साम्पाङले आफैं निर्वाचन आयोग पुगेर दल दर्ताका लागि निवेदन दिएका थिए। आवश्यक प्रक्रिया र कागजात परीक्षणपछि आयोगले आज श्रम संस्कृति पार्टीलाई औपचारिक मान्यता प्रदान गरेको हो। पार्टीले स्थानीय तहमा श्रम, स्वाभिमान र स्वदेशी उत्पादनको प्रवर्द्धनलाई मुख्य एजेन्डा बनाउने बताएको छ। पार्टीको नेतृत्वमा रहेका हर्क साम्पाङ हाल धरान उपमहानगरपालिकाका मेयर समेत हुन्। दर्ता प्रक्रियाको सम्पन्नतासँगै श्रम संस्कृति पार्टी अब देशभर राजनीतिक गतिविधि विस्तार गर्ने तयारीमा जुटेको छ। स्थानीयस्तरमा स्वतन्त्र र वैकल्पिक नेतृत्वको खोजी गरिरहेका मतदातामाझ यो पार्टीले नयाँ विकल्पको रूपमा प्रस्तुत हुने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ad