विपत्तिमा कोही एक्लो नहोस्, साझा संकल्प गरौँ : प्रचण्ड

११ भदौ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक विपत्तिको सामना गर्न राजनीतिक मतभेदभन्दा माथि उठेर राष्ट्रिय एकता कायम गर्नुपर्ने बताएका छन्।

सिंहदरबारमा आयोजित सर्वदलीय बैठकमा बोल्दै प्रचण्डले अहिले देश गम्भीर प्राकृतिक संकटमा रहेकाले राजनीतिक आग्रह–पूर्वाग्रहमा अल्झिने समय नभएको बताए। उनले सबै राजनीतिक दल, सरकार तथा सरोकारवाला निकाय एकजुट भएर खोजी, उद्धार, उपचार र राहतमा केन्द्रित हुनुपर्नेमा जोड दिए।

रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीलाई सामान्य प्राकृतिक विपत्तिका रूपमा मात्र लिन नहुने उनको भनाइ थियो। जलवायु परिवर्तन, हिमाली क्षेत्रमा बढ्दो जोखिम र बदलिँदो प्राकृतिक अवस्थाका कारण यस्ता घटना थप गम्भीर बन्दै गएको उनले बताए।

प्रचण्डले तत्काल उद्धार तथा राहतसँगै भविष्यमा हुने विपत्तिको जोखिम न्यूनीकरणका लागि वैज्ञानिक, प्राविधिक र नीतिगत अध्ययन गरी राष्ट्रिय रणनीति बनाउनुपर्ने धारणा राखे। हिमाली क्षेत्रमा पूर्वसूचना प्रणाली बलियो बनाउन छिमेकी मुलुक तथा अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्नुपर्ने उनले बताए।

विपत्तिका बेला राजनीतिक मतभेदलाई केही समय थाती राखेर नागरिकको जीवनरक्षामा केन्द्रित हुनुपर्ने उल्लेख गर्दै प्रचण्डले आफ्नो पार्टीले उद्धार, राहत तथा सहयोगका काममा सरकारी निकायसँग समन्वय गरी परिचालित हुन निर्देशन दिइसकेको जानकारी दिए।

उनले ‘विपत्तिमा कोही एक्लो नहोस्, उद्धार र राहतमा ढिलाइ नहोस् र राज्यको पहुँचबाट कुनै नागरिक बाहिर नपरोस्’ भन्ने साझा संकल्प गर्न सबैलाई आग्रह गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *