देशमा क्रान्ति र प्रतिक्रान्ति आमनेसामने छन् : प्रचण्ड

 १५ कात्तिक — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश हाल क्रान्ति र प्रतिक्रान्तिको निर्णायक द्वन्द्वमा रहेको बताएका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित सहिद प्रतिष्ठान नेपालको साधारणसभालाई सम्बोधन गर्दै उनले राष्ट्र गम्भीर मोडमा पुगेको र समाजवादी क्रान्तिको प्रारम्भिक संकेत देखिन थालेको बताए।

उनका अनुसार नेपाल अहिले साम्राज्यवाद र समाजवादी शक्तिबीचको संघर्षको चरणमा छ। “२३ र २४ गतेका घटनाक्रमहरूले स्पष्ट सन्देश दिएका छन्— क्रान्ति टाढा छैन, बरु नजिकिएको छ,” उनले भने। जनताको असन्तुष्टि र आक्रोशलाई सही दिशामा परिचालन गर्न सके समाजवादी रूपान्तरण सम्भव हुने उनको तर्क थियो।

प्रचण्डले शहीद परिवार र बेपत्ता योद्धाका पीडालाई सम्झिँदै शान्ति प्रक्रियाका बाँकी कार्य पूरा गर्न सरकार निरन्तर प्रयासरत रहेको उल्लेख गरे। उनले आयोग र कानुनी संरचनाहरू बने पनि अपेक्षित परिणाम नआएको स्वीकार गर्दै त्यो अब पूरा गर्नुपर्ने बताए।

उनका अनुसार, नेपाल गणतन्त्रमा पुगे पनि अहिले फेरि त्यही ऐतिहासिक मोडमा आएको छ जहाँ क्रान्ति र प्रतिक्रान्ति आमनेसामने छन्। “हामी अहिले साम्राज्यवादसँग प्रत्यक्ष टक्करमा छौँ,” प्रचण्डले भने, “अब प्रश्न यो हो— समाजवादी क्रान्तिले देशको स्वाधीनता जोगाउने कि साम्राज्यवादले त्यसलाई निल्ने?”

उनले वामपन्थी, देशभक्त र क्रान्तिकारी शक्तिहरूबीच एकता आवश्यक रहेको जोड दिए। हालका जनआन्दोलनमा युवाहरूको सक्रियता प्रशंसा गर्दै उनले तिनलाई नयाँ राजनीतिक चेतनाको वाहक भने। “भ्रष्टाचार र अन्यायविरुद्ध सडकमा निस्केका युवाहरूले राजनीतिक सचेतनाको नयाँ लहर ल्याएका छन्,” उनले निष्कर्ष निकाले।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ad