रुपन्देहीका १८ उद्योगको विद्युत् लाइन काटियो   

 विद्युत् महशुल तिर्ने समयावधि सकिँदै पनि रकम बुझाउन नसकेपछि रुपन्देहीका १८ उद्योगको विद्युत् आपूर्ति काटिएको छ। नेपाल विद्युत् प्राधिकरणले बिहीबार साँझ बुटवल–भैरहवा करिडोरसहित अमुवा, भैरहवा, नयाँ मिल र परासी वितरण केन्द्रअन्तर्गत रहेका उद्योगहरूको लाइन विच्छेदन गरेको हो।   \

   प्राधिकरणका अनुसार मुलुकभर काटिएका ३४ उद्योगमध्ये २३ लुम्बिनी प्रदेशका रहेको र तीमध्ये अधिकांश रुपन्देहीमा परेका छन्। अमुवा केन्द्रअन्तर्गत अर्घाखाँची सिमेन्ट र विशाल सिमेन्ट, भैरहवाबाट एभरेष्ट रोलिङ मिल, बिनायक स्पात, जगदम्बा सिन्थेटिक्स, एसआर फुड्स, घराना फुड्स र सिद्धार्थ पेटप्लाष्ट, नयाँ मिल क्षेत्रबाट गोयन्का फुड्स, भलवारी चामल मिल, श्याम प्लाष्टिक, पञ्चकन्या प्लाष्टिक, पञ्चकन्या स्टिल, शुभलक्ष्मी पोलिमर्स तथा परासी क्षेत्रका सर्वोत्तम सिमेन्ट, बुटवल सिमेन्ट र लक्ष्मी स्टिलको लाइन बन्द गरिएको हो। साथै दाङस्थित सोना र घोराही सिमेन्टको पनि विद्युत् काटिएको छ।

विद्युत् आपूर्ति अवरुद्ध भएपछि उद्योग संचालन ठप्प भएका छन्। अर्घाखाँची सिमेन्टका नायब महाप्रबन्धक कृष्णप्रसाद पाण्डेका अनुसार डिजेल प्लान्टबाट उत्पादन अत्यधिक महँगो हुने भएकाले उत्पादन रोकिएको छ।

पञ्चकन्या करिडोरका ११ उद्योगले आफूहरूले माग नगरेको डेडिकेटेड र ट्रंक लाइनको बिल तिर्न नसकिने भन्दै विरोध जनाएका छन्। प्राधिकरणले भने मागदाबी पत्राचार पछि पनि महसुल नबुझाएपछि लाइन काट्नुपरेको स्पष्ट पारेको छ।

सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले विद्युत् पुनःजडानको माग गर्दै एकतर्फी निर्णयले ३ हजारभन्दा बढी श्रमिक प्रभावित भएको जनाएको छ। संघले विवाद समाधान गरी डेडिकेटेड–ट्रंक लाइन समस्या तत्काल अन्त्य गर्न आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *