दशैं महिमा : टिका, जमरा, दक्षिणा र आशिर्वादको महत्व

   बडादशैं हिन्दू धर्मावलम्बीहरूको महान् पर्व हो। आश्विन शुक्लपक्षको प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्म मनाइने यो पर्व सत्यमाथि असत्यको विजयको प्रतीक मानिन्छ।

त्रेतायुगमा भगवान रामले दश दिनमा रावणमाथि विजय प्राप्त गरेको स्मरणमा विजयादशमी मनाइन्छ। यसलाई शक्ति–पूजा, शस्त्र–पूजन र उल्लासको पर्वका रूपमा समेत लिइन्छ।

दशैंका प्रमुख दिनहरूमा फूलपाती (महासप्तमी), महाअष्टमी, महानवमी र विजयादशमी पर्छन्। फूलपातीमा औषधीय पालुवाहरू घरभित्र भित्र्याइन्छ। महाअष्टमीमा महाकाली–भद्रकाली पूजा र बलि दिइन्छ। महानवमीमा विश्वकर्मा पूजा, साधन तथा हातहतियार पूजिने परम्परा छ। दशौं दिन विजयादशमीमा भगवती दुर्गाको प्रसाद स्वरुप टिका, जमरा र दक्षिणा ग्रहण गर्दै आशीर्वाद लिइन्छ।

टिका निधारमा आज्ञा चक्रमा लगाइन्छ, जसलाई चेतना र बुद्धिको केन्द्र मानिन्छ। रातो–सेतो टिकाले शान्ति, शक्ति र समृद्धिको प्रतीक जनाउँछ।

जमरा घटस्थापनादेखि राखिएको जौ अंकुर हो। यसलाई समृद्धि र स्वास्थ्यको प्रतीक मानिन्छ। अनुसन्धानअनुसार जमरामा औषधीय गुण हुन्छन्।

दक्षिणा भनेको टीका थाप्न आउनेलाई गच्छेअनुसार दिइने धनराशि हो। यसलाई लक्ष्मीलाई घरमा भित्र्याउने प्रतीक मानिन्छ।

आशीर्वाद ठूलोले सानोलाई दिने जीवनोपयोगी मार्गदर्शन र प्रगतिको शुभकामना हो। पुरुषलाई दीर्घायु, शक्ति, धन, सत्यवादिता आदि तथा महिलालाई जय, मंगल, शक्ति, क्षमा र रक्षा हुने आशीर्वाद दिने परम्परा छ।

बडादशैं केवल धार्मिक पर्व मात्र नभई सामाजिक, सांस्कृतिक र वैज्ञानिक महत्व बोकेको चाड हो। यसलाई आडम्बर नभई परम्परागत विधि–विधानअनुसार हर्षोल्लासपूर्वक मनाउनुपर्नेमा जोड दिइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *