विराटनगर भन्सारमा मूल्याङ्कन डाटाबेस प्रणालीको सुरुवात

१० असोज, विराटनगर । अर्थ मन्त्रालयअन्तर्गत भन्सार विभागले बुधबारदेखि विराटनगर भन्सार कार्यालयमा मूल्याङ्कन डाटाबेस प्रणाली पाइलट परियोजना रूपमा सुरु गरेको छ ।

अर्थमन्त्री रामेश्वर खनालले विशेष कार्यक्रममार्फत उद्घाटन गरेका उक्त प्रणालीले भन्सार प्रशासनमा पारदर्शिता, निष्पक्षता र एकरूपता ल्याई वैध व्यापारलाई सहज बनाउन योगदान गर्ने अपेक्षा गरिएको छ ।

सन्दर्भ मूल्यसूचीलाई हटाएर अब कारोबार मूल्यलाई नै भन्सार मूल्यका रूपमा मान्यता दिइनेछ । यसले व्यवसायीलाई सहज बनाउने, राजस्व चुहावट नियन्त्रण गर्ने र अनावश्यक विवाद हटाउने विश्वास व्यक्त गरिएको छ ।

भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीका अनुसार अघिल्लो प्रणालीले वास्तविक मूल्यभन्दा बढी वा कम मूल्याङ्कन गराउने, हुन्डी र अवैध कारोबार बढाउने जस्ता समस्या ल्याएको थियो । नयाँ प्रणालीले यस्ता विकृतिलाई नियन्त्रण गर्नेछ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष राजेश अग्रवालले यो कदमले निजी क्षेत्रको पुरानो माग पूरा गरेको बताएका छन् । उनीहरूको भनाइमा यसले पारदर्शिता बढाउने, भ्याट सङ्कलन प्रभावकारी बनाउने र स्वच्छ प्रतिस्पर्धालाई प्रोत्साहन गर्नेछ ।

अर्थविद्हरूले पनि यस प्रणालीले अन्डर–भ्वाइसिङ र ओभर–भ्वाइसिङ नियन्त्रण गरी राजस्व वृद्धि र वैध व्यापारलाई बल पुर्‍याउने बताएका छन् ।

विराटनगरमा सुरु गरिएको यो पाइलट प्रोजेक्ट सफल भएमा निकट भविष्यमा सबै भन्सार कार्यालयमा विस्तार गरिने भन्सार विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ad