सडकका थप २५ रुग्ण ठेक्का तोड्न सार्वजनिक सूचना
देशभरका दीर्घकालसम्म अलपत्र रहेका सडक तथा पुल निर्माणका २५ रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु गरिएको छ। सडक विभागका पुष्पलाल मध्यपहाडी राजमार्ग, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँ, इटहरी, पोखरा र सुर्खेत मातहतका विभिन्न डिभिजन कार्यालयले ठेक्का तोड्न सार्वजनिक सूचना जारी गरेका हुन्।
यसअघि १७ वटा शुक्रबार र १ वटा शनिबार ठेक्का तोड्ने निर्णयपछि आइतबार थप २५ ठेक्का तोड्ने तयारी भएको हो। काठमाडौँ डिभिजनले ७, ओखलढुङ्गा र अछामले ५/५, पाल्पाले ४ तथा धनकुटा, पोखरा, मध्यपहाडी र गोरखाले १/१ ठेक्का तोड्ने प्रक्रिया अघि बढाएका छन्।
मन्त्री कुलमान घिसिङको निर्देशनपछि, काम नगरेर आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्य गर्ने लक्ष्यसहित यो कदम चालिएको हो। देशभर अहिले २५८ ठेक्का रुग्ण अवस्थामा रहेका छन्।
सूचनामा ठेकेदारलाई १५ दिनभित्र कामको संशोधित तालिका, स्रोत साधन परिचालन योजना र स्पष्टीकरणसहित उपस्थित हुन आग्रह गरिएको छ। तोकिएको समयमा प्रतिक्रिया नआएमा ठेक्का तोड्ने, कालोसूचीमा राख्ने, जमानत र पेस्की रकम असुल गर्ने कारबाही अघि बढाइने छ।

