सहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार बन्चरेडाँडा ल्यान्डफिल्ड साइटको स्थलगत अनुगमन गरेका छन्। उपत्यकाको फोहोर व्यवस्थापनमा देखिएको दीर्घकालीन समस्या समाधानका लागि उनी टोलीसहित सो क्षेत्र पुगेका हुन्।
अनुगमनका क्रममा मन्त्री घिसिङले फोहोर व्यवस्थापनका कार्यमा देखिएका चुनौती र अवरोधबारे स्थानीय प्रतिनिधि तथा सरोकारवालासँग छलफल गरेका थिए। उनले सरकार फोहोर व्यवस्थापनलाई दिगो समाधानमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्दै, स्थानीयको चासो र सहमतिको पूर्ण कार्यान्वयनमा सरकार जिम्मेवार रहने बताएका छन्।
हाल बन्चरेडाँडाका बासिन्दाले विगतमा भएका सम्झौताहरू कार्यान्वयन नभएको भन्दै फोहोर फाल्न अवरोध गरिरहेका छन्। त्यसकै कारण काठमाडौं उपत्यकाको फोहोर उठ्न नसकेर सडक र बस्तीमा थुप्रिँदै गएको छ।
मन्त्री घिसिङले स्थानीयको मागलाई सम्बोधन गर्दै अविलम्ब सहमति कार्यान्वयनका पहल गर्ने आश्वासन दिएका छन्। उनले ल्यान्डफिल्ड साइटमा आवश्यक पूर्वाधार निर्माण, वातावरणीय संरक्षण तथा स्थानीय विकासका काम तीव्र गतिमा अघि बढाउने बताएको सहरी विकास मन्त्रालयले जनाएको छ।
काठमाडौं महानगरसहितका पालिकाबाट दैनिक हजारौं टन फोहोर बन्चरेडाँडामा ल्याइने गरिएको छ। तर, अवरोधका कारण पछिल्ला दिनमा फोहोर व्यवस्थापनमा पुनः संकट सिर्जना भएको छ। मन्त्री घिसिङको यो भ्रमणले समस्या समाधानको नयाँ मार्ग खुल्ने अपेक्षा गरिएको छ।








