घट्यो वाणिज्य बैंकहरूको मुद्दती निक्षेप ब्याजदर
वाणिज्य बैंकहरूले भदौ महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार व्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदरमा सामान्य गिरावट आएको छ। बैंकिङ प्रणालीमा पर्याप्त तरलता र कर्जाको माग अपेक्षाकृत कमजोर रहेपछि निक्षेपको ब्याजदर घट्ने क्रमले निरन्तरता पाएको हो।
भदौ महिनामा व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ४.१३६ प्रतिशतमा झरेको छ। साउनमा यस्तो दर ४.१६७५ प्रतिशत थियो। त्यस्तै, संस्थागत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ३.०८१ प्रतिशतमा कायम भएको छ, जुन साउनको ३.११६ प्रतिशतभन्दा कम हो।
भदौमा २० वाणिज्य बैंकमध्ये पाँच बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने १५ बैंकले साउनकै दरलाई निरन्तरता दिएका छन्। ब्याजदर घटाउनेमा सिद्धार्थ बैंक, नेपाल बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, कुमारी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन्।
सिद्धार्थ बैंकले व्यक्तिगततर्फको अधिकतम ब्याजदर ४.०५ प्रतिशतबाट घटाएर ३.७६ प्रतिशत कायम गरेको छ। संस्थागततर्फ पनि ३.२५ प्रतिशतबाट घटाएर ३.०५ प्रतिशत बनाएको छ। नेपाल बैंकले व्यक्तिगततर्फ ४.२५ प्रतिशतबाट ४.१५ प्रतिशत तथा संस्थागततर्फ ४ प्रतिशतबाट ३.५० प्रतिशतमा झारेको छ।
व्यक्तिगत मुद्दती निक्षेपमा भदौका लागि नबिल बैंक र प्रभु बैंकले सबैभन्दा बढी ४.५५ प्रतिशत ब्याजदर दिने भएका छन्। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबी बैंक, सानिमा बैंक र माछापुच्छ्रे बैंकले अधिकतम ४.५० प्रतिशत ब्याजदर कायम गरेका छन्।
बैंकिङ प्रणालीमा तरलता पर्याप्त रहेको अवस्थामा नयाँ निक्षेप आकर्षित गर्न बैंकहरूले उच्च ब्याजदर प्रस्ताव गर्नुपर्ने दबाब कम हुने भएकाले ब्याजदरमा क्रमिक गिरावट आएको देखिन्छ।

