५ लाख घुससहित लहानका कर अधिकृत पक्राउ

   सिरहा, ७ साउन — आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाल ५ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको छ।

अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले कार्यालय परिसरमै सेवाग्राहीबाट घुस बुझ्ने क्रममा पाललाई नियन्त्रणमा लिएको हो। घटनाको पुष्टि गर्दै बर्दिबास कार्यालय प्रमुख रामबहादुर कुरुम्वाङले थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

प्रारम्भिक अनुसन्धानअनुसार सिरहा सुपर मार्केट प्रालिको आर्थिक वर्ष २०७८/७९ को पूर्ण कर परीक्षण (फुल अडिट) गर्ने क्रममा पालले अडिट सहज बनाइदिने तथा कर दायित्व मिलाइदिने भन्दै घुस मागेको आरोप छ। सुरुमा १२ लाख रुपैयाँ मागिएको भए पनि कम्पनीले आर्थिक अवस्था कमजोर रहेको बताएपछि रकम घटाएर ५ लाख रुपैयाँमा सहमति भएको बताइएको छ।

अडिटका क्रममा कम्पनीमाथि कर, जरिवाना तथा अन्य शीर्षकमा करिब २ करोड रुपैयाँ दायित्व देखाइएको थियो। थप कागजात पेश गरेपछि उक्त दायित्व अझ बढ्न सक्ने जानकारी दिइएको स्रोतले जनाएको छ।

घुस बुझ्ने योजनाअनुसार विभिन्न स्थानमा भेटघाटको प्रयास गरिए पनि अन्ततः कार्यालयमै रकम बुझाउने सहमति भएको थियो। सेवाग्राहीले ५ लाख रुपैयाँ बुझाइरहेका बेला अख्तियारको टोलीले पाललाई रंगेहात पक्राउ गरेको हो।

अख्तियारले घटनामा अन्य व्यक्तिको संलग्नता रहेको दाबीबारे समेत अनुसन्धान अघि बढाएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *