रवि लामिछानेले चिनियाँ उच्च नेतृत्वसँग भेट गर्ने तयारी

काठमाडौं, ७ साउन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आगामी साउनको अन्त्यतिर पाँचदिने औपचारिक भ्रमणका लागि चीन जाने भएका छन्। उनी चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बेइजिङ पुग्ने तयारीमा रहेको उच्च सरकारी स्रोतले जनाएको छ।स्रोतका अनुसार भ्रमणका क्रममा लामिछानेले चिनियाँ विदेशमन्त्री वाङ यी तथा सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टीका उच्च तहका नेताहरूसँग शिष्टाचार तथा द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। भ्रमणको मुख्य उद्देश्य पार्टी–टु–पार्टी सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै नेपाल–चीन सम्बन्धलाई अझ गहिरो र अर्थपूर्ण बनाउने रहेको बताइएको छ।

सरकारी अधिकारीका अनुसार लामिछानेलाई अघिल्लो संसद्को कार्यकालमै चीन भ्रमणको निमन्त्रणा प्राप्त भएको भए पनि यसपटक भ्रमणलाई औपचारिक रूपमा अघि बढाइएको हो। भ्रमणका क्रममा द्विपक्षीय सहकार्य, राजनीतिक सम्बन्ध र आपसी हितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

पाँच दिन लामो भ्रमणमा सहभागी हुने अन्य तीन सदस्यको नाम भने सार्वजनिक गरिएको छैन। साथै, प्रतिनिधिमण्डलमा नेपाल सरकारका कुनै पनि आधिकारिक प्रतिनिधि सहभागी नहुने स्पष्ट पारिएको छ।

यसअघि लामिछानेले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए। रास्वपा स्रोतका अनुसार चीन भ्रमण पनि सोही प्रकृतिको कूटनीतिक तथा राजनीतिक भेटघाटमा केन्द्रित रहनेछ। भ्रमणको विस्तृत कार्यतालिका भने सार्वजनिक गरिएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *