९ पुस। जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टी सभापति शेरबहादुर देउवासँग परामर्श सुरु गरेका छन् ।
आयोगसमक्ष दिने बयानको विषयमा साझा धारणा बनाउन लेखक आज बुधबार सभापति देउवासँग भेटघाट गर्दै छन् । उनी देउवा बस्दै आएको महाराजगञ्जस्थित भाडाको निवास पुग्ने तयारीमा रहेका छन् । यस भेटमा आयोगको प्रक्रियासँग कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने बताइएको छ ।
लेखकलाई छलफलका लागि बोलाइएको हो, यद्यपि भेटघाटको ठ्याक्कै समय सार्वजनिक गरिएको छैन । स्रोतले छलफल निश्चित रहेको पुष्टि गर्दै समय मिलाएर भेट हुने जनाएको छ ।
यसअघि रमेश लेखकले आयोगले बयानका लागि बोलाएको विषयमा आफूले विभिन्न तहमा सल्लाह गरिरहेको बताएका थिए । आयोगले बयानका लागि पत्र पठाएको जानकारी आफूले सुने पनि औपचारिक रूपमा पत्र प्राप्त नभएको उनको भनाइ थियो ।
‘हिजो मंगलबार पत्र पठाइएको भन्ने सुनेको छु, तर अहिलेसम्म मलाई आएको छैन,’ लेखकले प्रतिक्रिया दिएका थिए । उनले थपे, ‘यस्तो अवस्थामा के गर्ने भन्ने विषयमा म परामर्शमै छु ।’
विशेष अदालतका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगले मंगलबार पूर्वगृहमन्त्री लेखकलाई बयानका लागि पत्र पठाउने निर्णय गरेको हो । आयोगले जेनजी आन्दोलनका क्रममा भएका गतिविधि र त्यससँग सम्बन्धित सरकारी भूमिकाबारे तथ्य संकलन गरिरहेको छ ।
आयोगको यो कदमसँगै राजनीतिक वृत्तमा चासो बढेको छ भने लेखक–देउवा भेटलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।







