भारततर्फ लैजाँदै गरिएका ११ वटा बाख्रा बरामद
कपिलवस्तु, असार २ गते । कपिलवस्तु प्रहरीले भारततर्फ अवैध रूपमा लैजाँदै गरिएका ११ वटा बाख्रा तथा विभिन्न भन्सार छलीका सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार दुई फरक घटनामा बाख्रा, कपडा, सुपारी र मोटरसाइकल नियन्त्रणमा लिइएको हो।
इलाका प्रहरी कार्यालय गणेशपुर र प्रहरी चौकी ठाकुरापुरबाट खटिएको संयुक्त टोलीले विजयनगर गाउँपालिका–५ पिडिहवा क्षेत्रमा भारततर्फ लैजाँदै गरिएका ११ वटा बाख्रा बरामद गरेको हो। प्रहरीलाई देख्नेबित्तिकै मोटरसाइकल र बाख्रा छाडेर संलग्न व्यक्ति फरार भएका थिए। बरामद बाख्राको अनुमानित मूल्य ८८ हजार रुपैयाँ र दुई वटा मोटरसाइकलको मूल्य एक लाख २० हजार रुपैयाँ गरी जम्मा दुई लाख आठ हजार रुपैयाँ बराबरको सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय कृष्णनगर पठाइएको प्रहरीले जनाएको छ।
त्यसैगरी, शिवराज नगरपालिका–५ चन्द्रौटामा चेकजाँचका क्रममा यात्रुवाहक सवारी साधनबाट ३५ हजार ५० रुपैयाँ बराबरका भन्सार छलीका सामान बरामद गरिएको छ। बरामद सामानमा २०० केजी केरा, २० केजी खुला सुपारी, १ केजी लामपाते सुपारी र २.५ केजी प्लास्टिक प्याकेट सुपारी रहेका छन्। केरा स्थानीय जनप्रतिनिधि र भद्रभलाद्मीको रोहवरमा नष्ट गरिएको प्रहरीले जनाएको छ। यस्तै, शुद्धोधन गाउँपालिका–४ सानो गनवरियाबाट भारतबाट नेपालतर्फ ल्याइँदै गरेको मोटरसाइकलसहित सुती कपडाका थान बरामद गरिएको छ। उक्त सामानको अनुमानित मूल्य ९१ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ। बरामद सबै सामान थप कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालय पठाइएको छ।

