२८ मंसिर । श्रीमतीको हत्या गरी बेपत्ता भएको नाटक रचेको अभियोगमा संखुवासभाको मादी गाउँपालिका निवासी प्रेम दोर्ची शेर्पा पक्राउ परेका छन्।
प्रहरीका अनुसार प्रेम दोर्चीले ९ मंसिर राति करिब साढे १० बजे ओखरबोट बजारबाट घर फर्कँदै गर्दा श्रीमती मिना शेर्पा बीच बाटोमै आफूखुसी हिँडेर हराएको भन्दै प्रहरीमा उजुरी दिएका थिए। तर घटनाबारे गरिएको सूक्ष्म अनुसन्धानले उनको बयान झुटो भएको खुलेको हो।
अनुसन्धान क्रममा उक्त रात घर फर्कने क्रममा दम्पतीबीच विवाद भएको र त्यसपछि कुटपिट गरी मिनाको हत्या गरिएको तथ्य बाहिर आएको प्रहरीले जनाएको छ। हत्या पश्चात् शव त्रिपालले बेरेर खाल्डो खनी गाडिएको स्वीकारोक्ति अभियुक्त प्रेम दोर्चीले दिएको संखुवासभा प्रहरीका सूचना अधिकारी धनबहादुर राजवंशीले जानकारी दिए।
प्रहरीले गाडिएको अवस्थामा शव उत्खनन गरी बरामद गरेको छ। घटनापछि १९ दिनसम्म फरार रहेका प्रेम दोर्चीलाई पक्राउ गरी उनीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।








