बुटवल । नेपालमा तरकारीको रूपमा अत्यन्तै लोकप्रिय बाली मुला अहिले देशका विभिन्न भूभागमा नगदे बालीको रूपमा पनि फैलँदो छ । यो बाली खेतबारीमा एकल रूपमा मात्र होइन, अन्य तरकारीसँग मिसाएर वा छेउछाउमा पनि लगाउन सकिन्छ । मुलाको प्रयोग प्राचीनकालदेखि हुँदै आएको मानिन्छ र जङ्गली प्रजातिहरू भूमध्यसागरीय क्षेत्रसम्म पाइन्छन् । नेपालमा मुला सलाद, अचार, सिन्की, तरकारी र सुकाएका चाना बनाउन प्रयोग गरिन्छ । पोषणका हिसाबले यो तरकारीमा भिटामिन, जैविक रस, क्याल्सियम र फस्फोरस प्रशस्त मात्रामा पाइन्छ, जसले पाचन प्रक्रियालाई सहज बनाउँछ ।
हावापानी र माटो
मुलाको सफल खेतीका लागि १८ देखि २४ डिग्री सेल्सियससम्मको तापक्रम र पर्याप्त प्रकाश आवश्यक पर्छ । माटोमा ६०–७० प्रतिशतसम्मको चिस्यान हुनुपर्छ र माटो जैविक पदार्थयुक्त बलौटे दोमट हुनु उपयुक्त मानिन्छ । अत्यधिक सुख्खा वा चिस्यानयुक्त माटोमा मुला फाट्ने, डुकु निस्कने र स्वादमा पिरोपन बढ्ने समस्या देखापर्छ ।
वानस्पतिक विवरण
मुलाको खाद्य भाग यसको मोटो जरा हो, जुन बीउबाट विकास हुन्छ । शुरूमै मसिनो जरा पलाएर त्यसमा पौष्टिक पदार्थ जम्मा हुँदै जान्छ । बिरुवामा टाउको, घौटी र जरा गरी तीन भाग हुन्छन् । टाउकोमा पात र डाँठ हुन्छ, घौटी भाग हाइपोकोटाइलबाट विकसित हुन्छ र तेस्रो भागमा मुख्य जरा हुन्छ ।
जात र क्षेत्रअनुसार खेती
नेपालमा उष्ण र समशीतोष्ण क्षेत्रअनुसार विभिन्न जातका मुला खेती गरिन्छ । एशियाली जातका मुला लामो र ठूला हुने, युरोपेली जातका मुला साना र केही पिरो हुने विशेषता राख्छन् ।
तराई, पहाड र लेक क्षेत्रका लागि फरक–फरक समयमा बाली लगाइन्छ ।
-
लेक क्षेत्रमा वैशाखदेखि साउनसम्म रोपिन्छ र भदौ–असोजमा तयार हुन्छ ।
-
पहाडमा भदौ–असोजमा रोपेर असोज–पुसमा मुला टिपिन्छ ।
-
तराईमा भदौ–कार्तिकमा बीउ रोप्दा मंसिर–माघमा बाली तयार हुन्छ ।
नेपालमा बारा, खोटाङ, नवलपरासी, चितवन, काभ्रे, रौतहट, सिन्धुली र नुवाकोट व्यावसायिक मुला खेतीका प्रमुख जिल्ला हुन् ।
जग्गा तयारी र मलखाद
मुलाको खेतीका लागि २०–३० से.मि. गहिराइसम्म माटो जोतिनुपर्छ । प्रत्येक रोपनीमा करिब एक टन गोबर मल हाल्नुपर्छ । रासायनिक मलको रूपमा ५ के.जि. नाइट्रोजन, ३ के.जि. फस्फोरस र ४ के.जि. पोटास आवश्यक हुन्छ । डल्ला फुटाएर माटो बुरबुराउँदो बनाउँदा मुलाको आकार राम्रो हुन्छ । नकुहिएको मल प्रयोग गर्न नहुने सल्लाह कृषि प्राविधिकहरूले दिएका छन् ।
बीउ रोपण
मुला सामान्यतः ड्याङ ड्याडमा रोपिन्छ । साना जातका मुला (जस्तै चालिस दिने) बाक्लो रोपिन्छन् भने ठूला उष्ण प्रदेशीय मुला ४५ × २५ से.मि. दुरीमा लगाइन्छ । खेतमा ७५ से.मि. फरकमा ड्याड बनाइ बीउ दुई लाइनमा खसालिन्छ । एक रोपनीमा करिब २५०–३०० ग्राम बीउ आवश्यक पर्छ । बीउ २ से.मि. गहिराइमा छर्नुपर्छ ।
गोडमेल र सिंचाइ
बाली बढ्दै जाँदा झारपात नियन्त्रण र माटो खुकुलो बनाउन गोडमेल गर्नुपर्छ । यसै क्रममा युरिया टपड्रेस गर्दा बिरुवाको वृद्धि राम्रो हुन्छ । वर्षायाममा सिंचाइको आवश्यकता नपर्ला पनि सुख्खा मौसममा ३–४ पात भएपछि हल्का सिंचाइ गर्नुपर्छ । अत्यधिक सुख्खा वा धेरै चिस्यान दुबै अवस्थामा मुलाको वृद्धि प्रभावित हुन्छ ।
रोग र कीराको नियन्त्रण
मुलामा लाही र उफ्रिने खपटे जस्ता कीराले क्षति पुर्याउँछन् । लाहीले पातमा रस चुसी बिरुवा कमजोर बनाउँछ । यसको नियन्त्रणका लागि निमजन्य जैविक विषादी वा मालाथियनजस्ता सुरक्षित कीटनाशक प्रयोग गर्न सकिन्छ । रोगमध्ये कालो कुहिने रोग प्रमुख हो, जसले पातदेखि जरा कुहाउँछ । यसबाट बच्न बीउलाई ५० डिग्री सेन्टिग्रेड तातो पानीमा ३० मिनेटसम्म भिजाएर उपचार गर्नुपर्छ ।
बाली उत्पादन र टिपाइ
मुलाको विभिन्न जात ३० देखि ७० दिनमा तयार हुन्छन् । कलिलो अवस्थामा टिप्दा स्वाद राम्रो र बजार मूल्य उच्च हुन्छ । ढिलो टिप्दा मुला काठिनु र स्वाद बिग्रने समस्या आउँछ । युरोपेली साना मुलाले प्रतिरोपनी करिब ४ सय किलो उत्पादन दिन्छ भने ठूला एशियाली जातका मुलाले १५ सयदेखि २५ सय किलोसम्म उत्पादन दिन सक्छन् ।
भण्डारण र बजार व्यवस्था
ताजा मुला ५–७ दिनसम्म भण्डारण गर्न सकिन्छ । केही किसानले मुला काटी सुकाएर चाना बनाउँछन्, जुन तरकारी अभावको मौसममा प्रयोग गर्न सकिन्छ । मुला खेती गर्ने कृषकले मुठा पारी खेतमै थोक व्यापारीलाई वा बजारमा सीधै बिक्री गर्छन् ।
नेपालमा जैविक मल र उचित सिंचाइ प्रणाली अपनाएर गरिएको मुला खेतीले किसानलाई छोटो अवधिमै राम्रो आम्दानी दिने गरेको कृषि प्राविधिकहरूको भनाइ छ ।







