आस्था, अराधना र सहअस्तित्वको उज्यालो छठ पर्व
छठ पर्व केवल धार्मिक अनुष्ठान मात्र होइन, प्रकृतिप्रतिको कृतज्ञता, परिवारप्रतिको समर्पण र समाजभित्रको हार्दिक एकताको प्रतीक हो । सूर्यदेव र छठी माईको आराधनामा मनाइने यो पर्व विशेषतः तराई–मधेस क्षेत्रमा व्यापक रूपमा प्रचलित भए पनि आज समग्र देश र विश्वभर फैलिएको सांस्कृतिक पहिचानको रूपमा स्थापित भइसकेको छ ।
चार दिनसम्म चल्ने यो पर्वको प्रत्येक चरणमा शुद्धता, अनुशासन र धैर्यको अनुष्ठान जोडिएको हुन्छ । नहाय–खायदेखि खरना, सन्ध्याकालीन अघ्र्य र बिहानी पूजा गर्दा व्रतधारीले कठोर उपवास, नदी तथा पोखरी किनारको श्रम र अटल आस्थाद्वारा प्रकृतिको देवत्वलाई प्रणाम गर्छन् । यो पर्वले सूर्यको प्रकाश, जलको महत्त्व र पृथ्वीको उर्वरतालाई सम्मान गर्दै मानव जीवनको गहिरो सम्बन्ध प्रकृतिसँग जोडेको छ ।
छठ पर्वले समाजमा सन्देश दिन्छ—सामूहिक सहयोग, स्वच्छता, आपसी सद्भाव र समानताको । किनभने यस पर्वमा दरिद्रदेखि धनीसम्म, जात–धर्मको भेद विना सबैले घाट निर्माण, सरसफाइ र समर्पणमा हातेमालो गर्छन् । परिवारका सदस्यहरू एक ठाउँ भेला हुन्छन्, दिदीबहिनी र माताहरूको त्यागलाई सम्मान गरिन्छ । यही भावनाले छठलाई संस्कृतिको मात्र नभई सामाजिक सद्भावको पर्व बनाएको छ ।
आजको आधुनिक युगमा भौतिकताले मान्छेहरू टाढा पार्दै लगे पनि छठले पुनः जोड्ने काम गरिरहेको छ,माटोसँग, पानीसँग, आकाशसँग र एकअर्कासँग । यस पर्वले दिइने शुभकामना केवल वाक्य होइन, जीवनलाई पवित्र बनाउने व्रत हो ।
यस अवसरमा देश–विदेशमा रहेका सबै श्रद्धालु तथा नेपाली दाजुभाइ दिदीबहिनीलाई छठ पर्वको हृदयदेखि शुभकामना । सूर्यदेवको उज्यालोले जीवनमा शान्ति, समृद्धि र उत्साहको किरण छर्छ, प्रकृतिप्रति कृतज्ञता र मानवता प्रति सम्मान स्थिर रहोस् । छठको प्रकाशले हाम्रो सहअस्तित्व उज्यालो बनाओस् । छठको सबैमा नया उत्साह, उम· र सकारात्मक ऊर्जा थपोस् भन्ने कामना गर्दै आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुराओस ।छठको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना ।

