गगन थापाद्वारा रास्वपालाई प्रथम महाधिवेशनको शुभकामना
असार ७ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा शुभकामना व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै थापाले रास्वपाले छोटो समयमै उल्लेखनीय जनसमर्थन प्राप्त गर्दै राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित गरेको बताएका छन्। उनले पार्टी सभापति रवि लामिछाने को नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्रा प्रशंसनीय रहेको उल्लेख गरेका छन्।
थापाले प्रथम महाधिवेशन रास्वपाका लागि विचार, संगठन र नीतिगत रूपमा अझ परिपक्व, जिम्मेवार तथा दूरदर्शी बन्ने ऐतिहासिक अवसर भएको बताएका छन्। उनले महाधिवेशनले लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्दै संविधानप्रदत्त नागरिक अधिकारको संरक्षणमा पार्टीलाई थप स्पष्ट, जवाफदेही र उत्तरदायी बनाउन ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।
उनले रास्वपाको प्रथम महाधिवेशन सफल रहोस् भन्ने शुभकामना दिँदै पार्टीको आगामी राजनीतिक यात्राको समेत सफलताको कामना गरेका छन्।
