तेज’ ब्रान्डको तोरी तेल गुणस्तरहीन, बजारबाट फिर्ता गर्न विभागको निर्देशन
जेठ १४ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग ले रुपन्देहीस्थित सिद्धार्थ आयल इन्डस्ट्रिज द्वारा उत्पादित ‘तेज’ ब्रान्डको तोरी तेल गुणस्तरहीन भेटिएपछि बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ। विभागले बजार अनुगमनका क्रममा संकलन गरिएको तेलको नमुना परीक्षण गर्दा सरकारले निर्धारण गरेको मापदण्ड पूरा नगरेको जनाएको हो। विभागका अनुसार आयातित तोरीबाट उत्पादन गरिएको उक्त तेलको प्रयोगशाला परीक्षणमा विभिन्न सूचकहरू न्यूनस्तरको पाइएका थिए।
त्यसपछि खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार सम्बन्धित कम्पनीलाई सो ब्याचको उत्पादन तत्काल बजारबाट हटाउन आदेश जारी गरिएको हो। उक्त तेलको ब्याच नम्बर २० रहेको छ भने उत्पादन मिति २०८२ फागुन २८ उल्लेख गरिएको छ। तेलको उपभोग अवधि ६ महिना रहेको विभागले जनाएको छ। विभागले सोही ब्याचको तेल बिक्री–वितरणमा समेत पूर्ण रोक लगाएको छ। विभागले उपभोक्ताको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै सर्वसाधारणलाई उक्त तेल प्रयोग नगर्न आग्रह गरेको छ। साथै, बजारमा पठाइसकिएको सम्पूर्ण परिमाण उत्पादक कम्पनीले आफ्नै खर्चमा फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको जनाएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य वस्तुको गुणस्तरमा लापरबाही गर्ने उद्योगमाथि निगरानी र कारबाहीलाई थप कडाइ गरिने पनि स्पष्ट पारेको छ।

